काठमाडौँ /
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको घटनामा सरकारले वित्तीय अनुशासन उल्लङ्घन गरेको आशंका व्यक्त गर्दै त्यसको भण्डाफोर गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा सम्पन्न केन्द्रीय समिति बैठकले आर्थिक स्वार्थका आधारमा उक्त आयोजनाको ठेक्का रद्द गरिएको निष्कर्ष निकालेको सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री शिवाकोटीले सुनकोशी–मरिण ठेक्का रद्द प्रकरणसँगै पासपोर्ट छपाइ प्रकरणमा देखिएको अनियमितताविरुद्ध काँग्रेसले सशक्त आवाज उठाउने बताउनुभयो । बैठकले सरकार सत्तानिकट व्यक्तिहरूलाई संरक्षण गर्ने र फरक मत राख्नेहरूमाथि फरक ढङ्गले कानुन लागू गर्ने ‘सेलेक्टिभ एप्रोच’ मा लागेको ठहर गरेको छ । यसै सन्दर्भमा काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहका प्रमुख सल्लाहकार कुमार बेनसहित सरकारनिकट व्यक्तिहरूमाथि उठेका प्रश्नमा निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ । सरकारको कार्यशैलीलाई ‘शासकीय अराजकता’ को संज्ञा दिँदै काँग्रेसले प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ ।यसैगरी, खस्कँदो अर्थतन्त्र, जनजीविकामा बढ्दो संकट, निजी क्षेत्रमा देखिएको त्रास तथा घोषित कार्यक्रम कार्यान्वयनमा सरकारले देखाएको उदासीनताप्रति चिन्ता व्यक्त गर्दै ध्यानाकर्षण गराउने निर्णय भएको सहमहामन्त्री शिवाकोटीले बताउनुभयो । आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनको तयारीका लागि देशभरका पालिकामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णयसमेत गरेको काँग्रेसले बैठकका विस्तृत निर्णयहरू भने शनिबार सार्वजनिक गर्ने जनाएको छ ।






