काठमाडौँ /
सरकारले अनुचित लेनदेन (मिटरब्याज) लाई फौजदारी कसुर कायम गर्दै सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने गरी नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । गृह मन्त्रालयले ‘अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रण तथा नियमन विधेयक’ को मस्यौदा तयार गरी संसद्मा लैजाने प्रक्रिया अघि बढाएको हो । पीडितको अधिकार संरक्षण, क्षतिपूर्ति उपलब्ध गराउन र आर्थिक कारोबारलाई व्यवस्थित गर्न ऐन ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । प्रस्तावित विधेयकको दफा ४ मा मिटरब्याज कारोबार मानिने १० वटा आधार तय गरिएको छ । जसमा वास्तविकभन्दा बढी रकमको लिखत बनाउने, ब्याजलाई सावाँमा जोड्ने, कानुनले तोकेभन्दा बढी ब्याज लिने, खाली कागजमा सहीछाप वा खाली चेक काट्न लगाउने, भुक्तानीको भरपाई नदिने, एकै कारोबारमा दोहोरो लिखत खडा गर्ने तथा भ्रष्टाचार र आपराधिक लाभको रकम ढुकुटी वा ठेक्कापट्टामा परिचालन गर्ने कार्यलाई मिटरब्याज मानिएको छ ।विधेयकको दफा ६ मा कसुरअनुसार कडा सजायको प्रस्ताव छ । ऋण असुलीका क्रममा शारीरिक वा मानसिक हानि हुने गरी धम्की, हिंसा वा शोषण गर्नेलाई तीनदेखि सात वर्षसम्म कैद र तीस हजारदेखि सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । त्यस्तै, झुट्टा लिखत तयार गर्ने, तोकिएभन्दा बढी ब्याज लिने, खाली कागज वा चेकमा हस्ताक्षर गराउने तथा भरपाई नदिने कसुरमा तीनदेखि पाँच वर्षसम्म कैद र तीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था मस्यौदामा समेटिएको छ ।






