काठमाडौं/
समाचार कक्षमै प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड र प्रेस स्वतन्त्रता संकुचित पार्ने गरी ल्याउन लागिएको अध्यादेशको विरोधमा नेपाल पत्रकार महासंघले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेको छ।प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्ने सरकारी प्रयास, समाचार लेखेकै आधारमा हुने प्रहरी हस्तक्षेप र साइबर ब्युरोमार्फत समाचारको स्रोत खुलाउन दिइने दबाबविरुद्ध महासंघले देशव्यापी दबाबमूलक कार्यक्रम आयोजना गरेको हो।आन्दोलनकै क्रममा महासंघको काठमाडौं शाखाले बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयबाहिर ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेको छ। प्रदर्शनलाई सम्बोधन गर्दै महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले प्रेसविरोधी अध्यादेश फिर्ता नलिएसम्म, कानुन निर्माणमा भइरहेको हस्तक्षेप नरोकिएसम्म र पत्रकारमाथि धरपकड गर्ने दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिइन्।दैनिक रूपमा पत्रकार पक्राउ पर्ने र न्युजरुमभित्रै प्रहरी पसेर धरपकड गर्ने प्रवृत्ति बढेको भन्दै उनले गम्भीर आपत्ति जनाइन्। दुई तिहाइको बलियो सरकार हुँदाहुँदै संसद् छलेर अध्यादेशमार्फत कानुन ल्याउन खोज्नु अलोकतान्त्रिक भएको उनको भनाइ थियो। उनले मिडिया काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश तत्काल फिर्ता लिई सरोकारवालासँगको छलफलमा संसद्बाटै कानुन निर्माण गर्न सरकारसँग माग गरिन्।अध्यक्ष शर्माले सरकारले लोककल्याणकारी विज्ञापन कटौती गरेको र सर्वोच्च अदालतले खारेज गरिसकेका आदेशसमेत कार्यान्वयनमा नल्याएको भन्दै आक्रोश व्यक्त गरिन्। मंसिर २ गतेदेखि ९ गतेसम्म पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको महासंघले सरकारबाट माग पूरा नभएकाले अब थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।






