काठमाडौँ /
ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन प्रहरी हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।जिल्ला सरकारी वकिल कार्यालयमार्फत शुक्रबार अदालतमा उपस्थित गराइएका अर्याललाई थप अनुसन्धानका लागि चार दिन थुनामा राख्न म्याद थप गरिएको अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकबाट बायोमेडिकल तथा स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी करिब १ अर्ब ६९ करोड रुपैयाँ विदेश पठाएको प्रकरणमा अर्यालमाथि अनुसन्धान गरिरहेको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा नीतिगत निर्णय प्रक्रियामा संलग्न भई ठगीमा सहजीकरण गरेको अभियोग उनीमाथि लागेको छ। सीआईबीले बिहीबार जारी गरेको विज्ञप्तिमा अर्याललाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको उल्लेख छ। यसै प्रकरणमा सीआईबीले यसअघि दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ।






