काठमाडौँ/
यस वर्षको ‘मीना दिदी शैक्षिक पुरस्कार–२०८३’ शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिएको छ। काठमाडौँको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा मङ्गलबार आयोजित विशेष समारोहमा आचार्यलाई नगद ५० हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको हो।शिक्षण क्षेत्रमा पुर्याएको योगदान तथा २०८३ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका बेला अदम्य साहस र कर्तव्यनिष्ठाका साथ विद्यार्थीको जीवनरक्षामा निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आचार्यलाई पुरस्कृत गरिएको हो। सोही विपद्का बेला विद्यार्थीको उद्धारमा अनुकरणीय भूमिका खेल्नुभएका रसुवाको उत्तरगया गाउँपालिका–५ का सुमन विश्वकर्मालाई नगद २५ हजार रुपियाँसहित ‘मीना दिदी सम्मान’ प्रदान गरियो।पुरस्कारका संस्थापकद्वय डा। आरती कार्की र साहित्यकार डा। नीलम कार्की निहारिका, मीना दिदी पुरस्कार समितिका अध्यक्ष उमानाथ पोखरेल तथा पाल्पाली सङ्गमका कार्यवाहक अध्यक्ष केशव आचार्यले संयुक्त रूपमा पुरस्कार तथा सम्मान हस्तान्तरण गर्नुभएको थियो। समारोहमा पुरस्कृत आचार्य र सम्मानित विश्वकर्माले भोटेकोशी बाढीको भयावह परिस्थिति र विद्यार्थी जोगाउन गरेका प्रयासबारे अनुभव सुनाउनुभएको थियो।कार्यक्रममा पुरस्कार समितिका अध्यक्ष पोखरेलले स्वर्गीय मीनाकुमारी कार्कीको जीवनसङ्घर्ष र ग्रामीण क्षेत्रमा महिला शिक्षाको विस्तारमा उहाँले पुर्याएको योगदानको स्मरण गर्नुभयो। पद्मकन्या बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुखले यस्ता सम्मानले शिक्षकहरूलाई थप उत्प्रेरित गर्ने बताउनुभयो। त्यस्तै, अधिकारकर्मी निर्मला ज्ञवालीले सम्मानित व्यक्तित्वहरूको परिचय प्रस्तुत गर्नुभएको थियो भने ‘मिस कस्मो नेपाल–२०२४’ निमिता रेग्मीले कार्कीको ‘जीवनभर अध्ययन गरिरहनुपर्छ’ भन्ने विचार प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।विसं २०२३ देखि अर्घाखाँची र पाल्पामा २७ वर्ष शिक्षण गर्नुभएकी पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयकी प्रथम महिला शिक्षिका मीनाकुमारी कार्कीको स्मृतिमा उहाँका छोरीहरूले यो पुरस्कार स्थापना गर्नुभएको हो। गत वर्ष बैतडीकी प्रथम महिला शिक्षिका कृष्णा बिष्टलाई प्रदान गरिएको यो पुरस्कारको राशि आगामी वर्ष २०८४ देखि वृद्धि गरी एक लाख रुपियाँ पुर्याइने समितिले जनाएको छ।






