सुर्खेत/
‘हिंसा गर्नु र सहनु दुवै अपराध हो’ भन्ने प्रमुख नाराका साथ सुर्खेतमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने सचेतना अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको छ। लैङ्गिक हिंसाको अन्त्य, पीडितको न्यायमा पहुँच, समानता र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यसहित हरेक वर्ष सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत यस वर्ष पनि विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको छ। वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले अभियानको उद्घाटन गर्दै लैङ्गिक हिंसाको अन्त्य र सुरक्षित समाज निर्माणका लागि दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लैङ्गिक हिंसा शारीरिक, मानसिक, यौनजन्य, आर्थिक तथा सामाजिकलगायत विभिन्न स्वरूपमा देखा पर्ने स्पष्ट पार्दै यसको उन्मुलनका लागि कानुनी सचेतना, सामाजिक जागरण र हाम्रा आनीबानीमा परिवर्तन अपरिहार्य रहेकोमा जोड दिनुभयो।अभियानले महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकमाथि हुने सबै प्रकारका हिंसा, विभेद, शोषण र दुर्व्यवहारविरुद्ध मुख खोल्न र सामूहिक आवाज उठाउन नागरिकहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ। हिंसामुक्त र समतामूलक समाज निर्माणका लागि स्थानीय सरकार, सुरक्षा निकाय, नागरिक समाज र आम नागरिकले साझा प्रतिबद्धता जनाउनुपर्ने आह्वानसहित विभिन्न सचेतनामूलक र जनचेतना जगाउने कार्यक्रमहरूकासाथ जिल्लाभर यो अभियान अगाडि बढाइएको छ।






