काठमाडौँ/
प्रतिपक्षी दलहरूले यथाशीघ्र संसद् बैठक आह्वान गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिनुभयो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आङ्देम्बेले न्यायालयमा बिचौलियाको प्रभाव, प्रहरीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको नाम जोडिएर आएका प्रसङ्गलगायत विषयमा संसद्मा गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतका न्यायाधीशसँग बिचौलियाको साँठगाँठलगायतका विषयहरू गम्भीर रहेको भन्दै यी विषयहरूमा सतही चर्चा गर्नुभन्दा संसद्बाटै समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो ।आङ्देम्बेले सरकारले अध्यादेशमार्फत नै सत्ता सञ्चालन गर्न खोज्दा संसद्को औचित्य र गरिमामाथि प्रश्न उठ्न थालेको टिप्पणी गर्नुभयो ।रसुवाको भोटेकोशी बाढीबाट विस्थापित नागरिकले राहत तथा घरभाडासमेत नपाएको गुनासो आएकाले यी विषयमा संसद्मा छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।नेता आङ्देम्बेले सुनसरी र कप्तानगञ्जका घटनाबारे गठित समितिको अवस्था तथा प्रतिवेदनहरू सार्वजनिक गर्नसमेत माग गर्नुभयो ।






