काठमाडौं/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताउनु भएको छ। उहाँले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन निर्देशन दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आन्दोलनका लागि आन्तरिक तयारी गर्नुपर्ने बताउनुभयो ।सरकारले देशमा आतङ्क फैलाउने, सादा पोसाकका प्रहरी प्रयोग गरेर बलजफ्ती गर्ने तथा गिरफ्तारी गर्ने जस्ता अराजक गतिविधि गरिरहेको आरोप पनि उहाँले लगाउनुभयो ।ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो । आगामी निर्वाचनमा एमालेलाई नराम्रोसँग पराजित गर्ने प्रयास भइरहेको दाबी गर्दै उहाँले त्यसलाई असफल बनाउनुपर्ने बताउनुभयो ।‘आगामी चुनावमा हामीलाई नराम्रो ढङ्गले पराजित गर्न खोज्दैछन्, त्यसलाई हामीले दिवासपनामा परिणत गराउनुपर्छ । विगतमा पनि हामीले गरेका छौँ,’ उहाँले भन्नुभयो ।देश सङ्कटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट मुलुकलाई निकास दिन आन्दोलन आवश्यक रहेको धारणा राख्नुभयो । आन्दोलनलाई नकारात्मक रूपमा नलिन आग्रह गर्दै उहाँले आन्दोलनबाटै शक्ति आर्जन हुने र पार्टी अघि बढ्न सक्ने बताउनुभयो ।






