वासिङ्टन डीसी /
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्याण्डले जबर्जस्ती करणी (बलात्कार) को गम्भीर आरोप लगाएकी छन्। अमेरिकी प्रतिनिधि सभाको न्यायिक समितिका डेमोक्र्याट सांसदहरूले सार्वजनिक गरेको ५३ पृष्ठ लामो एक अनुसन्धान प्रतिवेदनमा पूर्व मोडल बीट्रिस कुलले ट्रम्पमाथि उक्त आरोप लगाएको दाबी गरिएको छ।प्रतिवेदन अनुसार घटना सन् १९९३ नोभेम्बरको हो। त्यसबेला २४ वर्षीया कुल एक मोडल तथा फाइनान्स क्षेत्रमा काम गर्ने युवती थिइन्। उनलाई जिल हार्थ नामकी महिलाले ‘डोनाल्ड जे ट्रम्प अमेरिकन ड्रीम पेजेन्ट’ मा भाग लिनका लागि बोलाएकी थिइन्। उक्त पेजेन्ट १६ देखि २२ वर्षका युवतीहरूका लागि आयोजना गरिएको थियो।प्रतिवेदनमा उल्लेख भए अनुसार, न्युयोर्कको प्लाजा होटलमा भएको एक पत्रकार सम्मेलनको क्रममा ट्रम्पले कुललाई भेटे। त्यतिबेला प्लाजा होटल ट्रम्पकै स्वामित्वमा थियो। ट्रम्पले उनलाई “अन्ततः हामी भेट्यौं मिस कुल” भनेको र अमेरिकी भिसा मिलाइदिने र न्युयोर्क युनिभर्सिटी (NYU) मा भर्ना गराइदिने प्रलोभन देखाएको आरोप छ।त्यही बेला कुख्यात यौन अपराधी जेफ्री एपस्टीन पनि त्यहाँ आएको र आफूलाई “डनको सबैभन्दा मिल्ने साथी” भनेर चिनाउँदै कुललाई मार-ए-लागोमा हुने पार्टीमा निम्तो दिएको प्रतिवेदनमा उल्लेख छ। एपस्टीनले “हामी डनसँग धेरै पार्टी आयोजना गर्छौं” भनेको कुलले बताएकी छन्।प्रतिवेदनको सबैभन्दा गम्भीर भाग त्यसपछि आउँछ। सोही दिन दिउँसो ट्रम्पका एक प्रतिनिधिले कुललाई माथिल्लो तलाको सुइटमा राष्ट्रपतिलाई भेट्न बोलाए। आफ्नो करियर र पढाइमा सहयोग मिल्ने आशामा उनी त्यहाँ गइन्।प्रतिवेदनमा कुलको भनाइ उद्धृत गर्दै भनिएको छ, “कोठामा प्रवेश गर्नेबित्तिकै ट्रम्पले पछाडिबाट समातेर जबर्जस्ती बलात्कार गरे, उनको लुगा च्यातिदिए, शरीरका विभिन्न भागमा रगत र निलडाम हुने गरी चोट पुर्याए।” कुलले उक्त आक्रमणलाई “क्रूर (brutal)” भनेर वर्णन गरेकी छन्।घटनापछि ट्रम्पले उनलाई बेडको छेउमा बसाएर फेरि भिसा र विश्वविद्यालय भर्नाको आश्वासन दोहोर्याएको र चुप लाग्न दबाब दिएको आरोप छ। कुल केही हप्तापछि स्विट्जरल्याण्ड फर्किएकी थिइन् र ट्रम्पले फोन गरेर फेरि भिसाको प्रस्ताव गर्दा अस्वीकार गरेको प्रतिवेदनमा उल्लेख छ। ह्वाइट हाउसले भने यी सबै आरोपको कडाइका साथ खण्डन गरेको छ। ह्वाइट हाउस प्रवक्ता लरेन बिसले भनेकी छन्, “यी आरोपहरू मध्ये कुनै पनि सत्य होइन। यो रिपोर्ट पागल डेमोक्र्याटहरूको एउटा हताश प्रयास हो, जसले राष्ट्रपति ट्रम्पको ऐतिहासिक उपलब्धिहरूबाट अमेरिकी जनताको ध्यान भड्काउन खोजिरहेका छन्। यो प्रतिवेदन आगामी अमेरिकी मध्यावधि चुनावभन्दा एक हप्ता अघि सार्वजनिक भएको हो, जसले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याएको छ।





