नुवाकोट/
भोटेकोशीमा बाढी आएको दुई महिना बितिसक्दा पनि पुनर्स्थापनाको प्रक्रिया सुरु नभएको भन्दै नुवाकोटका बाढीप्रभावितहरूले प्रदर्शन गरेका छन्।सोमबार भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समितिले ‘विस्थापित पीडितहरूलाई राहत होइन, पुनर्वास हुनुपर्ने’ मागसहित सङ्घर्षका कार्यक्रम सुरु गरेको हो। समितिले विस्थापितहरूको बाँच्ने आधारको सुनिश्चिततालगायत ६ बुँदे सामूहिक माग अगाडि सारेको छ। विदुरस्थित इलम प्रशिक्षण केन्द्रबाट निस्किएको बाढीपीडितहरूको जुलुसले जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला समन्वय समिति र विदुर नगरपालिकामा मागसहितको ज्ञापनपत्र बुझाएको छ। सरोकार समितिले विदुरमा शान्तिपूर्ण रूपमा जुलुस र धर्ना आयोजना गरेको थियो।प्रलयकारी बाढीले विध्वंस मच्चाएको सोमबार ६८ दिन बितेको छ। बाढीमा परेर धेरैले परिवारका सदस्य, घरबार तथा खेतबारी गुमाएका छन्। केही गैरसरकारी संस्थाहरूले खाद्यान्न र त्रिपाल दिएको भए पनि सरकारी निकायले ६८ दिनसम्म केही नगरेको भन्दै पीडितहरू आक्रोशित भएका हुन्।






