लुम्बिनी/
आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएको विरोधमा लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा खान र वाजिउद्दिन मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूलाई गएराति साढे १० बजे लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको तस्बिर जलाएर विरोध गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको प्रहरीले जनाएको छ।यसअघि सोमबार साँझ महाअभियानले लुम्बिनीको पर्सा चोकमा प्रदर्शन गर्दै आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गरेको थियो।महाअभियानका सहसंयोजक राम विकास चौधरीले नियुक्तिको विरोधमा आवाज उठाएकै कारण अध्यक्ष खानलाई पक्राउ गरिएको आरोप लगाएका छन्। उनले खानलाई तत्काल रिहा गर्न माग गरेका छन्।






