काठमाडौँ /
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको जीवन रक्षा र मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । सापकोटाको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले शुक्रबार आयोगमा निवेदन दिएकी हुन् ।आयोग स्रोतका अनुसार उजुरी दर्ता भइसकेको र हिरासतमा रहेका व्यक्तिको आधारभूत मानव अधिकार परिपूर्ति भए/नभएको विषयमा अब अनुसन्धान अगाडि बढाइनेछ ।उजुरीमा प्रहरीले गैरकानुनी रूपमा नियन्त्रणमा लिई मानसिक यातना दिएको र झूटा मुद्दामा फसाउन खोजेको आरोप लगाइएको छ । निवेदकका अनुसार २०८३ असोज १४ गते बिहान नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तिम सुरक्षा जाँचमा पुगेका बेला प्रहरीले सापकोटालाई नियन्त्रणमा लिएको थियो । सो क्रममा आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभापति गगन थापा, व्यवसायीहरू उमेश श्रेष्ठ, मीनबहादुर गुरूङ र नवीन तुलाधरलगायतविरुद्ध बयान दिन दबाब तथा ज्यानको धम्की दिइएको दाबी गरिएको छ ।विमानस्थलभित्रैबाट पक्राउ गरिए पनि प्रहरीले बाहिर सडकमा अभद्र व्यवहार गरेको झूटा आरोप लगाएको भन्दै सापकोटाले सत्यतथ्यका लागि विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्न माग गरेका छन् । साथै, पक्राउ परेकै दिन खोसिएको आइफोन दुई दिनपछि पानीपोखरीस्थित निवासबाट बरामद भएको देखाई मुचुल्का बनाइएको आरोप निवेदनमा छ ।सापकोटाले आफूसँग रहेको १ हजार ३०० अमेरिकी डलर र भारतीय रुपैयाँ नेपाल राष्ट्र बैंकको नियमानुसार कानुनसम्मत रहेको दाबी गरेका छन् । तर, प्रहरीले विदेशी विनिमयसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत थपेर निरन्तर थुनामा राख्ने प्रयास गरेको भन्दै उनले आयोगसँग जीवनरक्षाका लागि पहल गरिदिन अपिल गरेका छन् ।






