काठमाडौं/
प्रेम सम्बन्धमा हुँदा खिचेका गोप्य तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ का २९ वर्षीय विकल्प राई रहेका छन्। राईले पीडित महिलाका गोप्य तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेर चरित्र हत्या गरेको प्रहरीले जनाएको छ।महिलाको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको विशेष टोलीले राईलाई काठमाडौंको ठमेलबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका राईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोले जानकारी दिएको छ। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने घटनाहरू बढ्दै गएकाले सचेत रहन र यस्ता गतिविधि भएमा तुरुन्त प्रहरीमा सम्पर्क गर्न ब्युरोले आग्रह गरेको छ।






