काठमाडौं /
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी आधिकारिकताको राजनीतिक र कानुनी लडाइँमा पैसाको लेनदेन नभएको बताएका छन्।बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भने, ‘करोडको कुरा गर्छन्, नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक, कानुनी लडाइँमा रूपैयाँ होइन, एक सुकाको पनि आर्थिक लेनदेन वा अनुचित काम गरेको छैन।’प्रहरी हिरासतमा रहेका फिक्सर भनिएका इनम सापकोटाको अडिओमा आफ्नो नाम जोडिएको विषयमा थापाले पहिलो पटक भिडिओमार्फत जवाफ दिएका हुन्। उक्त अडिओमा कांग्रेसको आधिकारिकताका लागि १८ करोडको लेनदेन भएको दाबी गरिएको थियो।थापाले भने, ‘त्यो अडिओ कहाँ बोलेको, कसले बोलेको, किन बोलेको र कहिले बोलेको भन्ने मलाई थाहा छैन। बोलेको हो कि बोलाइएको हो, त्यो पनि थाहा छैन। इनम सापकोटाले भनेको भरमा मैले सार्वजनिक रूपमा उत्तर दिइरहनुपर्ने विषय होइन।’उनले पार्टी र पार्टी नेतृत्व सबै खालको अनुसन्धानका लागि तयार रहेको पनि बताए। ‘हामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो। अनुसन्धान फेयर भयो भने दूधको दूध, पानीको पानी छुट्टिन्छ,’ उनले भने।विशेष महाधिवेशनलाई भदौ २३ र २४ गतेको युवा विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तनका लागि गरिएको प्रयासका रूपमा व्याख्या गर्दै थापाले भने, ‘कांग्रेसको विशेष महाधिवेशन भनेको पार्टी रूपान्तरणका लागि भएको विद्रोह थियो। विद्रोह गर्नेले परिणामको चिन्ता गर्दैन र करोडको कुरा पनि गर्दैन।’ढुक्क हुनुहोस्, म गगन थापा — तपाईंको दाइ, भाइ, छोरा, साथी, सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्, माई ह्यान्ड्स आर क्लिन,’ उनले भने।बुधबार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर यसबारे पार्टीको धारणा सार्वजनिक गरिसकेका थिए। त्यसको भोलिपल्ट सभापति थापाले आफैं भिडिओमार्फत स्पष्टीकरण दिएका हुन्।अडिओ प्रकरण सार्वजनिक भएपछि डराएर मध्यरातमा विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्न हिँडेको भन्ने चर्चालाई पनि थापाले अस्वीकार गरेका छन्। उनले मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेको र ५-७ दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले दलहरूसँग संवाद गर्नु आफ्नो जिम्मेवारी भएको बताए। त्यसक्रममा उनले माओवादी अध्यक्ष प्रचण्ड, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको बताए।





