काठमाडौँ/
सोलुखुम्बुको फाप्रे क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनाको नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन सुरु गरेको छ। छानबिनबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही र सुधारात्मक उपाय अवलम्बन गरिने प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले जानकारी दिएका छन्। कसको नेतृत्वमा छानबिन सुरू भएको विषय भने प्राधिकरणले खुलाएको छैन।मंगलबार बिहान सोलुखुम्बु जिल्लाको फाप्रे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको नाइन एन र फिस्टेल एयरको नाइन एन हेलिकोप्टर दुर्घटनामा परेका थिए।दुर्घटनामा फिस्टेल एयरको हेलिकोप्टरमा सवार दुई विदेशी नागरिकमध्ये भारतको तमिलनाडु राज्यस्थित चेन्नईका ४७ वर्षीय वसन्तकुमार बालारामूर्तिको मृत्यु भएको प्राधिकरणले जनाएको छ।दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौंस्थित अस्पतालमा ल्याई भर्ना गरिएको प्राधिकरणले जनाएको छ। घाइते हुनेमा न्युजिल्यान्डका नागरिक शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकोप्टरका पाइलटहरू रहेको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।






