मोरङ/
मोरङमा रहेको रिजाल क्यानिङ एन्ड कम्पनीको हदबन्दी छुटको जग्गा सट्टापट्टा गरी बिक्री गर्ने प्रक्रियामा सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्याएको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरी प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ । मुद्दा दायर भएका ९७ मध्ये ५३ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।यो प्रकरण तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले २०६६ सालमा गरेको जग्गा सट्टापट्टासम्बन्धी निर्णयसँग सम्बन्धित छ । अख्तियारका अनुसार २०६६ साल मङ्सिर १६ गते बसेको मन्त्रिपरिषद् बैठक र पुस १६ गतेको सामाजिक समितिको निर्णयबाट जग्गा सट्टापट्टा गर्न स्वीकृति दिइएको थियो ।तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा भएको मन्त्रिपरिषद्को निर्णय र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित सामाजिक समितिका पदाधिकारीहरूको भूमिकालाई अख्तियारले अभियोगको आधार बनाएको छ ।






