गुवाहाटी/
पाकिस्तानी गुप्तचरसँग जोडिएको संगठित वित्तीय ठगी नेटवर्कमा संलग्न रहेको आरोपमा असम प्रहरीको विशेष कार्यदलले गुवाहाटीमा ६ जनालाई पक्राउ गरेको छ।सोमबार प्रहरीले दिएको जानकारी अनुसार यो र्याकेटले देशभर म्युल बैंक खाताहरू प्रयोग गरेर ठगीको रकम घुमाउने गरेको र पछिल्लो दुई वर्षमा पीडितहरूबाट करोडौं रुपैयाँ ठगी गरेको छ।असम प्रहरीको आधिकारिक विज्ञप्ति अनुसार, तेजपुरस्थित गजराज मिलिटरी इन्टेलिजेन्सबाट प्राप्त गुप्त सूचनाको आधारमा असम प्रहरीको विशेष कार्यदलले यो अनुसन्धान सुरु गरेको थियो। यो मुद्दा गत महिना सोनितपुर जिल्लामा दर्ता भएको एक अनलाइन वित्तीय ठगीको उजुरीबाट सुरु भएको थियो, जसलाई पछि थप अनुसन्धानका लागि असम प्रहरीको विशेष कार्यदललाई हस्तान्तरण गरिएको थियो।अनुसन्धानको क्रममा असम प्रहरीको विशेष कार्यदलले गुवाहाटी निवासी २८ वर्षीया मर्जिना बेगमको बैंक खातामा छोटो अवधिमा ठूलो रकम जम्मा भएको फेला पारेको थियो। प्रहरीका अनुसार उक्त खातामा सन् २०२६ जुन २२ देखि अगस्ट ५ को बीचमा लाखौं रुपैयाँ जम्मा भएको थियो। प्रत्येक जम्मा पछि तुरुन्तै रकम निकालिएको थियो, जसले शंकास्पद वित्तीय कारोबारको ढाँचा देखाएको थियो।अनुसन्धानपछि यसमा पाकिस्तानसँगको लिंक देखिएको र म्युल अकाउन्टमार्फत देशभरका ठगीको पैसा रुट गर्ने गरेको पाइएको असम प्रहरीले जनाएको छ। पक्राउ परेका अन्य ५ जनाको पहिचान र पाकिस्तानसँगको सम्पर्कबारे थप अनुसन्धान भइरहेको असम प्रहरीको विशेष कार्यदलले बताएको छ।





