हिन्दुस्तान टाइम्स/
भारतको प्रमुख विपक्षी गठबन्धन भारतब्लकले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध गर्न लागेको “जन महाभियोग” कार्यक्रम खराब मौसमका कारण स्थगित भएको छ।हिन्दुस्तान टाइम्सका अनुसार, यो कार्यक्रम शुक्रबार दिउँसो ३:३० बजे कांग्रेसका राष्ट्रिय अध्यक्ष तथा राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेको निवासमा सुरु हुने तय थियो। तर खड्गेको निवासमा नै पानी जमेर जलमग्न भएपछि कार्यक्रम स्थगित गर्नुपरेको स्रोतले जनाएको छ। पछिल्ला महिनाहरूमा भारतको निर्वाचन आयोग र ज्ञानेश कुमारमाथि विपक्षीले गम्भीर आरोप लगाउँदै आएका छन्। मतदाता सूचीको विशेष गहन पुनरावलोकनको नाममा मतदाता सूचीमा अनियमितता गरिएको छ र चुनावमा भोट चोरी भएको छ।यसै विषयलाई लिएर भारत ब्लकले ज्ञानेश कुमारको राजीनामा मागिरहेको छ। यो “जन महाभियोग” पनि प्रतीकात्मक विरोधको रूपमा आयोजना गर्न लागिएको थियो।कांग्रेस महासचिव जयराम रमेशले यसलाई घोषणा गर्दै सामाजिक सञ्जालमा लेखेका थिए , मुख्य निर्वाचन आयुक्तले संविधानको अक्षर र भावना दुवैको स्पष्ट उल्लंघन गरेका छन्। उनले व्यवस्थित रूपमा हाम्रो चुनावी लोकतन्त्रको जगलाई नै ध्वस्त पारेका छन्। उनले स्पष्ट रूपमा भन्नुपर्दा सर्वोच्च अदालतलाई झुटो बोलेका छन्। बिहीबार भएको तयारी बैठकमा कांग्रेस महासचिव प्रियंका गांधी वाड्रा, जयराम रमेश, केसी वेणुगोपाल, वरिष्ठ नेता मीरा कुमार, तृणमूल कांग्रेसका डेरेक ओ’ब्रायन, समाजवादी पार्टीका हरेन्द्र मलिक, जेएमएमका महुआ माझी र सीपीआई(एम)का जोन ब्रिटास लगायतका नेताहरू सहभागी थिए। उनीहरू सबै आजको जन महाभियोगमा उपस्थित हुने तय थियो।





