काठमाडौँ /
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ । देशभर ग्यासको आपूर्ति व्यवस्थालाई थप सहज, नियमित र प्रभावकारी बनाउने उद्देश्यका साथ निगमको एलपी ग्यास तथा एभिएसन विभागले उद्योगहरूलाई पत्राचार गर्दै उक्त निर्देशन जारी गरेको हो ।निगमले बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन सबै एलपी ग्यास उद्योगहरूलाई सचेत गराएको छ । यसैगरी, उद्योगहरूसँग रहेको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मात्रामा ग्यास मौज्दात राख्नसमेत निर्देशन दिइएको छ । आपूर्ति शृङ्खलामा कुनै पनि किसिमको अवरोध आउन नदिन निगमले भन्सार नाकाहरूमा रोकिएर रहेका ग्यास बुलेटहरू तत्काल छुटाएर आपूर्ति प्रणालीमा ल्याउन उद्योगीहरूलाई आग्रह गरेको छ । उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निगमले आन्तरिक व्यवस्थापन र आयात प्रक्रियालाई तीव्रता दिन उद्योगहरूलाई ताकेता गरेको हो ।






