डोलेन्द्र थापा/काठमाण्डाै
नेपालले विगत १२ वर्षभन्दा लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्ग एयर रुट उपलब्ध गराउन भारत सकारात्मक देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर ६ गतेबाट हुने आसन्न भारत भ्रमणमा यो विषय प्रमुख एजेण्डा बन्ने निश्चितप्रायः छ। यसैको गृहकार्यस्वरूप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल सम्मिलित नेपाली प्रतिनिधिमण्डल नयाँदिल्ली पुगेर फर्किएको छ। भारतीय नागरिक उड्डयन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँगको द्विपक्षीय छलफलमा यसपटक विगतमा जस्तो आश्वासनमा मात्र सीमित नहुने संकेत मिलेको अधिकारीहरूको बुझाइ छ। सन् २०१४ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला ६ महिनाभित्र हवाई रुटको प्राविधिक विषय टुंग्याउने सहमति भएको थियो। तर, १२ वर्ष बितिसक्दा पनि सहमति कार्यान्वयन नहुँदा नेपाल भित्रिने अधिकांश अन्तर्राष्ट्रिय उडानहरू सिमराको एकमात्र प्रवेश बिन्दुमा निर्भर छन्। भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुको मुख्य कारण पनि पश्चिमतर्फको ९महेन्द्रनगर र भैरहवा हवाई प्रवेशमार्ग नपाउनु नै हो। पश्चिमतर्फबाट आउने जहाजले सिमरा हुँदै घुमेर अवतरण गर्नुपर्दा उडान समय २० देखि २५ मिनेट लम्बिने र इन्धन खर्च अत्यधिक बढ्ने भएकाले विदेशी वायुसेवा कम्पनीहरू यी विमानस्थलमा आकर्षित हुन सकेका छैनन्। भारतले नेपाललाई पश्चिमतर्फको आकाश खुला नगर्नुमा मुख्यतः सुरक्षा संवेदनशीलताु लाई कारण देखाउँदै आएको छ। महेन्द्रनगर र नेपालगञ्ज नाका भारतीय वायुसेनाका संवेदनशील एयरबेसहरू नजिक पर्दछन्। भारतीय रक्षा मन्त्रालयले ती क्षेत्रको आकाश नागरिक उड्डयनका लागि खुला गर्दा आफ्नो सैन्य गतिविधि र रणनीतिक सुरक्षामा असर पर्न सक्ने आशंका गर्दै आएको थियो। यस्तै, चिनियाँ ऋण तथा निर्माणमा बनेका भैरहवा र पोखरा विमानस्थललाई सहज हुने गरी रुट दिँदा रणनीतिक रूपमा चीनलाई फाइदा पुग्ने भारतीय बुझाइ तथा नेपालमा भइरहने अस्थिर राजनीतिले पनि लामो समय निर्णय अड्किएको कूटनीतिक जानकारहरू बताउँछन्। यसको बदलामा भारत के चाहन्छ रुपछिल्लो दिल्ली वार्तामा भारतले नेपाललाई पश्चिमतर्फको विशेषगरी महेन्द्रनगरको एल–६२६ रुटलाई दुईतर्फी बनाउने र भैरहवाका लागि रुट दिने आकाश उपलब्ध गराउने बदलामा आफ्नै नयाँ शर्त अघि सारेको छ। भारतले पश्चिम बंगालको सिलिगुडी नजिकै रहेको बागडोगरा विमानस्थलबाट बिहारको रक्सौलस्थित विमानस्थलमा उडान भर्न नेपालको पूर्वी तराई क्षेत्रको आकाश प्रयोग गर्न पाउनुपर्ने माग राखेको छ। हाल बागडोगराबाट रक्सौल पुग्न भारतीय भूमिमै करिब पाँच सय किलोमिटर लामो बाटो घुम्नुपर्ने बाध्यता छ। नेपाली आकाश प्रयोग गर्न पाए भारतीय आन्तरिक उडानको समय र इन्धन दुवै बचत हुनेछ। यसका साथै, भारतले नेपालको हवाई सुरक्षा प्रबन्ध, भैरहवा र पोखरा विमानस्थलको व्यवस्थापन तथा सीमा क्षेत्रको सुरक्षा निगरानीमा पनि आफ्नो स्पष्ट चासो र सहकार्य खोजिरहेको छ। अर्बौं लगानीमा बनेका क्षेत्रीय विमानस्थलहरूलाई व्यावसायिक रूपमा चलाउन नेपाललाई तत्काल एयर रुटको खाँचो छ। दिल्लीको प्राविधिक छलफलले सकारात्मक आधार तयार पारे पनि आफ्नो पूर्वी आकाश भारतलाई दिँदा भैरहवा र पोखराका लागि आवश्यक भारतीय प्रवेशमार्गको ठोस र कार्यान्वयनयोग्य सुनिश्चितता खोज्नु नै प्रधानमन्त्री शाहको भ्रमणको मुख्य कूटनीतिक परीक्षा हुनेछ।






