काठमाडौँ /
काठमाडौँ महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाको पठनपाठनका लागि विशेष विद्यालय भवनको शिलान्यास गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान वडाध्यक्ष कुश ढकाल, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा जग पूजा गरी उक्त भवनको शिलान्यास गर्नुभएको हो ।शिलान्यास समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले अरूसरह समान रूपमा शिक्षा आर्जन गर्न र आफ्नो अधिकार उपभोग गर्न पाउनुपर्ने बताउनुभयो । अटिजम वा शारीरिक अशक्तताकै कारण कोही पनि बालबालिका शिक्षा लगायतका आधारभूत अधिकारबाट वञ्चित हुन नपर्ने वातावरण राज्यले सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महानगरपालिकाले समावेशी शिक्षालाई प्राथमिकतामा राख्दै विशेष आवश्यकता भएका बालबालिकाका लागि भौतिक पूर्वाधार निर्माणलाई अघि बढाएको हो । यस विद्यालय भवनको निर्माणसँगै अटिजम भएका बालबालिकालाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने विश्वास महानगरले लिएको छ ।






