काठमाडौँ /
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले टर्कीको आन्ताल्यामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी कोप–३१औँ अन्तर्राष्ट्रिय सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोप्रति गहिरो निराशा व्यक्त गर्नुभएको छ । जलवायु सङ्कटको गम्भीरतालाई सम्बोधन गर्न आवश्यक सामूहिक प्रतिबद्धता र निर्णयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेको उहाँले उल्लेख गर्नुभएको छ ।सरकारहरूले आवश्यक कदम चाल्ने अपेक्षा गरेका विश्व समुदायको निराशाप्रति आफू सहमत रहेको बताउँदै महासचिव गुटेरेसले जलवायु सङ्कट सम्बोधनमा हुने ढिलाइले आगामी चुनौतीलाई थप जटिल र खर्चिलो बनाउने चेतावनी दिनुभयो । उहाँले विकसित राष्ट्रहरूले जलवायु अनुकूलनका लागि उपलब्ध गराउने वित्तीय सहयोग तीन गुणा वृद्धि गर्ने प्रतिबद्धता तत्काल पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।सम्मेलनमा राजनीतिक सहमति नजुटे पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यहरूमा कुनै अस्पष्टता नरहेको उहाँको भनाइ छ । विश्व तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिअघिको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य कठिन बन्दै गएको औँल्याउँदै गुटेरेसले निर्धारित सीमा नाघ्ने अवस्थालाई न्यून राख्ने अवसर तीव्र रूपमा साँघुरिँदै गएको बताउनुभयो ।यसैबीच, जीवाश्म इन्धनसँग सम्बन्धित शक्तिशाली व्यावसायिक स्वार्थ समूहहरूले वैज्ञानिक तथ्यलाई प्रभावित पार्ने, नीतिगत निर्णयमा ढिलाइ गराउने र जलवायु संरक्षणका प्रयासमा अवरोध सिर्जना गर्ने गरेको आरोपसमेत महासचिव गुटेरेसले लगाउनुभएको छ ।






