काठमाडौं/
सर्वोच्च अदालतले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिएको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने टुंगो लगाउन दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले प्रारम्भिक सुनुवाइपछि विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै आगामी सोमबार (मंसिर १४ गते) छलफलका लागि उपस्थित हुन आदेश दिएको हो। अदालतले निवेदकको मागबमोजिम किन आदेश जारी नगर्ने हो ? सोको १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा निर्देशनसमेत दिएको छ। सफलता बोगटीसहितले दायर गरेको रिटमा नागरिकतासम्बन्धी विवाद रहेको र सम्पत्ति शुद्धीकरणको अनुसन्धान चलिरहेको व्यक्तिलाई सरकारले विधि विपरीत कोषको उपाध्यक्षमा नियुक्त गरेको जिकिर गरिएको छ। गत असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले डोल्मालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। दुवै पक्षको बहस सुनेपछि मात्र अन्तरिम आदेशबारे निर्णय लिन उपयुक्त हुने अदालतको निष्कर्ष छ।






