काठमाडौं/
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी १५ औं महाधिवेशनको तयारीका लागि आवश्यक समितिहरू गठन गर्ने सम्पूर्ण अधिकार महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई प्रदान गरेको छ। बुधवार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा बसेको शीर्ष नेता, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिनुभएको हो।नेता बस्नेतका अनुसार महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न व्यवस्थापन समिति, स्वयंसेवक समिति र मञ्च व्यवस्थापन समितिलगायत करिब १५ देखि २० वटा विभिन्न समितिहरू निर्माण गर्नुपर्ने भएकाले संयोजक कोइरालालाई उक्त जिम्मेवारी दिइएको हो। महाधिवेशन संयोजक कोइरालाले बिहीबारसम्म विभिन्न समितिका संयोजकहरू तोक्ने र त्यसपछि ती संयोजकहरूले आ-आफ्नो कमिटीमा सदस्यहरू मनोनयन गरी तयारीका काम तीव्र पार्ने बस्नेतले बताउनुभयो। बैठकको निर्णयबारे जानकारी दिँदै नेता बस्नेतले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गर्नुभएको छ। उहाँले पार्टीको आधिकारिकता आफूहरूसँगै रहेको जिकिर गर्दै कसैलाई पनि कारबाही गर्ने अधिकार अरू पक्षलाई नरहेको धारणा राख्नुभएको छ।






