काठमाडौं/
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएर विपक्षी गतिविधिमा संलग्न जनप्रतिनिधिहरूलाई तत्काल पदबाट राजीनामा दिन कडा निर्देशन दिनुभएको छ। मङ्गलवार पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको विधान र निर्णयलाई बेवास्ता गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका नेता तथा जनप्रतिनिधिहरूलाई यस्तो आग्रह गर्नुभएको हो।सभापति थापाले कांग्रेसको महाधिवेशन सम्पन्न भइसकेको स्पष्ट पार्दै पार्टी एउटा मात्रै रहने बताउनुभयो। कांग्रेसको विधानअनुसार पार्टीको चुनाव चिह्न लिएर निर्वाचित व्यक्तिले अर्को पार्टीको सदस्यता लिएमा वा संलग्न भएमा स्वतः सदस्यता कायम नरहने उहाँको भनाइ थियो। राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिहरूले नैतिक आधारमा पद त्याग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पार्टी विधानको कार्यान्वयन गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले कसैलाई व्यक्तिगत रूपमा पूर्वाग्रह राखेर नभई विधानको पालना गराउन खोजेको स्पष्ट पार्नुभयो। साथै, पार्टीको महाधिवेशन र नेतृत्वका विषयमा फैलिएका भ्रममा नपर्न उहाँले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ।






