हेटौँडा/
मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका–१, रातोमाटेबाट अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय सुमन भनिने पञ्चबहादुर थिङ रहेका छन्।जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले थिङको घरमा विशेष सूचनाका आधारमा खानतलासी गरेको थियो। तलासीका क्रममा घरको खाटमुनि बोराभित्र लुकाई छिपाई राखेको चालु अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।बरामद गरिएका हतियारसहित थिङलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।






