काठमाडौं/
प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका क्रममा आज आइतबार भारतको राजधानी नयाँ दिल्ली आइपुग्नुभएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा आउनुभएका प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्थानीय समयअनुसार दिउँसो ३.१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले न्यानो स्वागत गर्नुभयो। स्वागतका क्रममा विमानस्थल परिसरमा भारतको सांस्कृतिक पहिचान झल्काउने विभिन्न परम्परागत झाँकीसमेत प्रस्तुत गरिएको थियो।सो अवसरमा भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, विभिन्न मन्त्रालयका उच्च सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मीहरू सहभागी हुनुहुन्छ।भ्रमणको पहिलो दिन आज साँझ ६.०० बजे प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भोलि सोमबार बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्नुहुनेछ। त्यसैगरी, भोलि मङ्सिर ७ गते प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने कार्यतालिका छ। भ्रमणकै सिलसिलामा उहाँले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय वार्ताका क्रममा नेपाल र भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल कनेक्टिभिटी तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा गहन छलफल हुनेछ। यसैगरी, भ्रमणका क्रममा दुई देशबीच शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानवसंशाधन विकासजस्ता प्राथमिकताप्राप्त क्षेत्र समेटिएका विभिन्न समझदारीपत्र एमओयुमा हस्ताक्षर तथा आदानप्रदान गरिनेछ। साथै, दुवै देशका प्रधानमन्त्रीले ऊर्जा सहकार्य र सम्पर्क सञ्जाल विस्तारसम्बन्धी सम्पन्न भइसकेका केही महत्त्वपूर्ण परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्ने र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ। राजकीय भ्रमणका सम्पूर्ण कार्यसूची सम्पन्न गरी प्रधानमन्त्री शाह भोलि मङ्सिर ७ गते साँझ ६.३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कनु हुनेछ।






