जयपुर /भारत
भारतको पश्चिमी राज्य राजस्थानका दुई अलग–अलग स्थानमा भएका सडक दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।स्थानीय प्रहरीका अनुसार राजस्थानको कोटा जिल्लास्थित शम्भुपुरा गाउँनजिक तीव्र गतिमा गुडिरहेको यात्रुवाहक गाडी सडक किनारमा रोकिराखेको ट्रकमा ठोक्किँदा एकै परिवारका नौ जनाको घटनास्थलमै ज्यान गएको हो । जयपुरबाट करिब २५० किलोमिटर दक्षिणमा भएको उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । ठक्करबाट गाडी पूर्ण रूपमा क्षतिग्रस्त हुँदा भित्र फसेका यात्रुहरूलाई प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको थियो ।यसैगरी, शनिबार साँझ राजस्थानकै जोधपुर जिल्लामा कार र यात्रुवाहक टेम्पो एकआपसमा ठोक्किँदा थप तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।भारतमा प्रत्येक वर्ष सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति हुने गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्नु, सडकको जीर्ण अवस्था तथा चालकको लापरबाहीलाई यस्ता दुर्घटनाको मुख्य कारण मानिन्छ ।






