काठमाडौँ/
नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणले नेपालको दीर्घकालीन हित हुने कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गर्नुभएको छ।मङ्गलबार पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले भ्रमणका क्रममा भएका कतिपय सकारात्मक पक्षको स्वागत गरिए पनि दीर्घकालीन राष्ट्रिय हितका विषयमा भने ठोस प्रगति नदेखिएको बताउनुभएको हो। भ्रमणको यथार्थ विवरण र उपलब्धिबारे प्रधानमन्त्री शाहले देशवासीलाई स्पष्ट जानकारी गराउनुपर्ने माग समेत उहाँले राख्नुभएको छ।बैठकमा आफ्नो धारणा राख्दै थापाले नेपालको दीर्घकालीन हितसँग जोडिएका विषयमा कुनै सम्झौता भएको भए त्यसको पारदर्शी जानकारी आम नागरिकले पाउनुपर्नेमा जोड दिनुभयो।“प्रधानमन्त्रीजीको भर्खर भारत भ्रमण भयो । केही उपलब्धिमूलक कुराहरू भएका छन्, स्वागत गरेका छौँ हामीले, सकारात्मक भनेका छौँ,” सभापति थापाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए, “तर नेपालका केही दीर्घकालीन हितका विषयका सन्दर्भमा हामी केही पनि देखिरहेका छैनौँ । हामी बोल्न हतार गर्दैनौँ, तर विषयका सन्दर्भमा हामी माग गर्दछौँ कि प्रधानमन्त्रीले देशवासीलाई बताउनुपर्छ, के–के भएका हुन्, उपलब्धिहरू के–के हुन् ।”प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका थापाले भ्रमणका उपलब्धिबारे जानकारी लिनु आफूहरूको दायित्व भएको उल्लेख गर्दै सरकारसँग जवाफदेहिताको माग गर्नुभएको छ। “यी कुराहरूका बारेमा हाम्रो जिम्मेवारी होइन ? हामीले यसको बारेमा जानकारी लिनुपर्दैन ?” उहाँले प्रश्न गर्नुभयो। प्रधानमन्त्री शाहले हालै भारतको दुई दिने औपचारिक भ्रमण सम्पन्न गर्नुभएको थियो। भ्रमणका विषयमा सरकारका तर्फबाट भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।





