काठमाडौं/
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा कार्यरत रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको कसुरमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार, फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शाखा अधिकृत सरहको रोजगार संयोजक पदमा २०७८ साल वैशाख १ गतेदेखि कार्यरत गिरीले पेस गरेको ३ वर्षे बि।एड। तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण हुँदा अन्य व्यक्तिको नाममा रहेको खुल्न आएको छ।गिरीले आफ्नो शैक्षिक योग्यता ढाँटी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद र ओहदा प्राप्त गरेको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० बमोजिमको कसुरमा कैद र जरिवाना सजायको माग दाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।आयोगका अनुसार गिरीले नक्कली प्रमाणपत्रकै आधारमा लामो समयदेखि सरकारी सेवा सुविधा लिँदै आएका थिए। उनीविरुद्ध परेको उजुरीका आधारमा आयोगले छानबिन सुरु गरेको थियो। छानबिनका क्रममा त्रिभुवन विश्वविद्यालयमा प्रमाणपत्र प्रमाणीकरणका लागि पठाउँदा उक्त लब्धाङ्कपत्र अर्कै व्यक्तिको नाममा रहेको पुष्टि भएको थियो।अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी पदमा नियुक्ति लिनु भ्रष्टाचारजन्य कसुर भएको स्पष्ट पारेको छ। यस्ता घटनाले सरकारी सेवाको विश्वसनीयता र योग्य व्यक्तिहरूको अवसरमाथि असर पर्ने आयोगको भनाइ छ।पछिल्लो समय नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी सेवामा प्रवेश गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै आयोगले निगरानी र छानबिनलाई तीव्र बनाएको छ। आयोगले सबै सार्वजनिक निकायलाई कर्मचारी नियुक्ति गर्दा शैक्षिक प्रमाणपत्र अनिवार्य रूपमा प्रमाणीकरण गर्न आग्रह गरेको छ।






