काठमाडौँ /
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गर्नुभएको छ। काठमाडौँमा आयोजित पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले अब पनि सिंहदरबारको मूल ढोकाबाटै प्रवेश गर्ने बताउनुभएको हो। अध्यक्ष ओलीले प्रतिक्रियावादी, जनविरोधी तथा देशको अहित चाहने शक्तिहरूले चौतर्फी घेराबन्दीमा पारेर असंवैधानिक बाटोबाट सरकारबाट हटाए पनि एमाले पुनः सत्तामा पुग्ने जिकिर गर्नुभयो। विगतमा सरकारबाट हटाइँदा पनि संवैधानिक प्रक्रियाबाटै सत्तामा फर्किएको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि सोही बाटोबाट सरकारको नेतृत्वमा पुग्ने स्पष्ट पार्नुभयो। सम्बोधनका क्रममा अध्यक्ष ओलीले भन्नुभयो, नेकपा एमाले कसैको दया, माया र कृपाले बाँचेको पार्टी होइन । हामी संघर्षको मैदानबाट लडेर, जितेर र जनताको समर्थनबाट सरकारमा गएका थियौँ। पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले एमाले सरकारमा फर्किएर देशको विकास र समृद्धिका अधुरा कामलाई निरन्तरता दिने बताउनुभयो।






