काठमाडौं/
छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको गौरीघाटस्थित छठघाट पुगेर छठी माताको दर्शन गर्नुभएको छ।
प्रथम महिला सविता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अगाडि बागमती नदी किनारमा रहेको गौरीघाट पुग्नुभएका राष्ट्रपति पौडेलले छठी माताको प्रतिमामा पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दान गर्नुभएको छ। उहाँले घाटमा भेला भएका श्रद्धालु तथा व्रतालुहरूसँगै पूजाअर्चनाको अवलोकन गर्नुभएको थियो।राष्ट्रपति पौडेलले पूजा गरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गर्नुभएसँगै त्यहाँ निर्माण गरिएका ६०० भन्दा बढी छठ घाटमा जम्मा भएका व्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर छठ पर्व मनाएका छन्।
राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं सदस्यहरू तथा छठ पूजा समिति गुह्येश्वरीका पदाधिकारी एवं सदस्यहरूले स्वागत गर्नुभएको थियो। आज काठमाडौंको पशुपति, गौरीघाट, कमलपोखरी, गौशाला लगायत विभिन्न स्थानमा श्रद्धालुहरू छठ माताको पूजाको व्रत गरिरहेका छन्। बिहानैदेखि व्रतालुहरू नयाँ लुगा, पूजा सामग्री, फलफूल, ठेकुवा, केरा, उखु, नरिवलसहित घाटमा पुगेका थिए। घाटहरू फूल, बत्ती र रंगीबिरंगी सजावटले झिलिमिली भएका थिए।छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धालुहरूले परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्ने परम्परा छ। चार दिने छठ पर्वको मुख्य एवं तेस्रो दिन आज व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। अर्घ्य दिएपछि व्रतालुहरू रातभर छठ घाटमै जाग्राम बस्नेछन्।कार्तिक शुक्ल सप्तमीका दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दान गरेपछि छठ पर्व विधिवत् रूपमा समाप्त हुनेछ। घाटमा बस्न नसक्ने व्रतालु भने आज बेलुकीको कर्म सकेर सोमबार बिहानै घाटमा पुगी व्रत समापन गर्नेछन्।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो। नहाय(खाय, खरना हुँदै आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो।छठ पर्वमा सहभागी हुने क्रममा पशुपति क्षेत्रमा हजारौं भक्तजनको उपस्थिति रहेको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो। कमलपोखरी र गौशालामा पनि हजारौं श्रद्धालुको भीड लागेको थियो। सुरक्षा, सरसफाइ र व्यवस्थापनका लागि प्रहरी, स्वयंसेवक र आयोजक समिति खटिएका थिए।छठलाई तराई मधेशको मात्र पर्व नभई अहिले राष्ट्रिय पर्वका रूपमा मनाउन थालिएको छ। पहाड, हिमाल र तराईका सबै समुदायका मानिसहरू एकै घाटमा भेला भएर सूर्यलाई अर्घ्य दिनुले राष्ट्रिय एकता र सांस्कृतिक सद्भाव झल्काएको छ।






