वीरगन्ज/
वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा १५ दिने नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। शिशुको मृत्यु चिकित्सक तथा स्वास्थ्यकर्मीको चरम लापरबाहीका कारण भएको आरोप लगाउँदै परिवारजन तथा स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २२ मदिलवा टोलका सन्दीप साहका छोरालाई जन्डिसको समस्या देखिएपछि गत शनिबार अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा भर्ना गरिएको थियो। उपचारपश्चात् शिशुको स्वास्थ्यमा सुधार आएको र मंगलबार डिस्चार्ज गर्ने तयारी भइरहेको बेला सो दुर्घटना घटेको परिवारको दाबी छ। डिस्चार्जको प्रक्रिया चलिरहेका समयमा नर्सले सुई लगाए लगत्तै शिशु छटपटाउन थालेको र समयमै चिकित्सक उपलब्ध नभएका कारण बच्चाको ज्यान गएको शिशुका हजुरबुवा नरेश साहले आरोप लगाएका छन्। घटनापछि आक्रोशित आफन्तहरूले अस्पतालको गेट बन्द गरी प्रदर्शन गर्नुका साथै घटनाको सत्यतथ्य बाहिर ल्याउन सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन्। घटनालगत्तै उत्पन्न तनाव नियन्त्रणमा लिन र सुरक्षा व्यवस्था कडा पार्न वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली परिचालन गरिएको छ। हाल अस्पताल प्रशासन र पीडित पक्षबीच विवाद समाधानका लागि छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनाबारे अस्पताल प्रशासनको भने आधिकारिक धारणा आइसकेको छैन।






