धरान/
धरानको बहुचर्चित बराह बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना प्रकरणमा फरार रहेका संस्थापक अध्यक्ष शिवकुमार लामिछाने विश्वकर्मा पक्राउ परेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रबाट उनलाई सुनसरी प्रहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त विशेष टोलीले पक्राउ गर्न सफल भएको हो। सहकारीका बचतकर्ताको करोडौं निक्षेप जोखिममा परेपछि लामिछाने लामो समयदेखि फरार सूचीमा थिए।प्रहरीले यसै प्रकरणमा बराह ग्रुपको प्रदेश सचिवालय सदस्य तथा सहकारीकी कर्मचारी, धरान उपमहानगरपालिका–१५ की अस्मिता भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ। संस्थाका पदाधिकारी र कर्मचारी मिलेर सर्वसाधारणको निक्षेप अपचलन गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो।बराह सहकारीमार्फत धरानलगायत क्षेत्रका हजारौं सर्वसाधारणको बचत अपचलन भएको भन्दै पीडितहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए। मुख्य योजनाकार मानिएका संस्थापक अध्यक्ष लामिछानेको पक्राउले यो प्रकरणमा नयाँ मोड आएको छ। प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइने जनाएको छ। निक्षेपकर्ताको रकम फिर्ता गराउनुपर्ने मागसहित पीडितहरूले कानुनी कारबाहीका लागि दबाब दिँदै आएका छन्।






