काभ्रेपलाञ्चोक /
काभ्रेपलाञ्चोकका विभिन्न रिसोर्टहरूमा बसेर शंकास्पद गतिविधि सञ्चालन गरिरहेका विदेशी नागरिकहरूमाथि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ। यसै क्रममा पनौती नगरपालिका–११, बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टुबाट प्रहरीले बुधबार थप ४० जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डिएसपी रबिन विष्टका अनुसार बुधबार बिहान करिब ११ बजे रिसोर्टमा छापा मारी ३६ जना जापानी र ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको हो। उनीहरूले रिसोर्ट नै पूरै भाडामा लिएर बसोबास गर्दै आएको पाइएको छ। प्रहरीले रिसोर्टका दुईवटा कोठाबाट ठूलो परिमाणमा ल्यापटप तथा मोबाइल फोनहरूसमेत बरामद गरेको छ। बरामद गरिएका प्रविधिजन्य उपकरणहरूको विस्तृत प्राविधिक जाँच तथा थप अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट विज्ञसहितको विशेष टोली माग गरिएको डिएसपी विष्टले जानकारी दिए। यसअघि मंगलबार पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पाँचखाल नगरपालिका–७ स्थित ुह्वाइट पार्क रिसोर्टुमा छापा मारेर ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उक्त रिसोर्टबाट प्रहरीले ४९ थान ल्यापटप र १५५ थान मोबाइल बरामद गरेको थियो भने रिसोर्टभित्र सर्भर रुम जस्तो छुट्टै कोठासमेत बनाइएको भेटिएको थियो। जिल्लाका विभिन्न रिसोर्टहरूमा ठूलो संख्यामा विदेशी नागरिकहरू मासिक रूपमा महँगो भाडा तिरेर लामो समयदेखि बस्दै आएको र उनीहरूको गतिविधि शंकास्पद देखिएको गुनासोपछि प्रहरीले अपरेसन चलाएको हो। पक्राउ परेका सबै ७६ जनाको भिसा, राहदानी र उनीहरूको संलग्नताबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






