काठमाडौं /
त्रिभुवन विश्वविद्यालयले लिखित परीक्षा नलिई पहिलो पटक एक सय जना उपप्राध्यापकलाई स्थायी सेवामा नियुक्त गर्ने भएको छ।विश्वविद्यालयको शिक्षण पेसामा विशिष्ट अनुभव बोकेका व्यक्तिलाई आकर्षित गर्ने रणनीति अनुसार यसरी उपप्राध्यापक नियुक्त गर्न लागिएको त्रिविले जनाएको छ। उपप्राध्यापक तहमा लिखित परीक्षा नलिई सिधै स्थायी सेवामा नियुक्त गर्न लागिएको यो पहिलो पटक हो।त्रिविका लागि शिक्षक तथा कर्मचारी छनोट गरेर नियुक्तिका लागि सिफारिस गर्ने निकाय त्रिवि सेवा आयोगका अनुसार यसअघि थोरै सङ्ख्यामा सहप्राध्यापक र प्राध्यापकलाई पनि यसरी नै नियुक्त गरिएको थियो। यस पटक पनि उपप्राध्यापकसँगै प्राध्यापक १० जना र सहप्राध्यापक २० जना यही प्रक्रियाबाट नियुक्त गर्न लागिएको छ। लिखित परीक्षाको तयारीमा नलागेका तर शिक्षण अनुसन्धान तथा लेख रचनामा सक्रिय रहेका र स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापन गरिरहेका अब्बल जनशक्तिलाई विश्वविद्यालयमा भित्र्याउन यो प्रक्रिया अवलम्बन गरिएको त्रिविले जनाएको छ।फास्ट ट्र्याक (द्रुत मार्ग) विधि पनि भनिने यो प्रक्रियाबाट तीनै तहको प्राध्यापक नियुक्त गर्न सेवा आयोगले आह्वान गरेको विज्ञापन अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिनु पर्छ। आवेदकका कागजपत्रका आधारमा आयोगले छनोट सूची तयार पार्दछ। सोही सूचीका आधारमा अन्तर्वार्तामा बोलाएर स्थायी नियुक्तिका लागि विश्वविद्यालय समक्ष सिफारिस गरिने आयोगका प्रमुख विष्णुप्रसाद अर्यालले बताउनुभयो।अर्यालका अनुसार यसरी नियुक्तिको आधार तय गर्न त्रिवि कार्यकारी परिषद्ले ‘त्रिभुवन विश्वविद्यालय विशिष्टताका आधारमा खुला प्रतियोगिताद्वारा शिक्षक नियुक्तिको सिफारिससम्बन्धी विनियम, २०८२’ बनाएको छ। सोही विनियमका आधारमा योग्यता, अनुभव, अनुसन्धान, प्रकाशन र शिक्षण क्षमतालाई आधार मानेर छनोट गरिनेछ।त्रिविको यो निर्णयले लामो समयदेखि शिक्षण र अनुसन्धानमा सक्रिय तर लिखित परीक्षामा सहभागी हुन नचाहने विद्वानहरूलाई विश्वविद्यालयमा भित्र्याउन बाटो खुल्ने अपेक्षा गरिएको छ। विदेशमा प्राध्यापन गरिरहेका नेपाली प्राध्यापकहरू पनि यसबाट आकर्षित हुन सक्ने त्रिवि अधिकारीहरूको भनाइ छ।तर, कतिपयले भने लिखित परीक्षा बिना नियुक्ति गर्दा पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै छनोट प्रक्रिया पूर्ण रूपमा पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्। आयोगले भने कागजपत्र मूल्यांकन र अन्तर्वार्ता दुवैलाई वस्तुनिष्ठ र मापदण्डमा आधारित बनाइने दाबी गरेको छ।






