जनकपुरधाम/
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्राका क्रममा जनताबाट संकलन गरिएका समस्या र गुनासा प्रधानमन्त्री तथा पार्टी सभापतिलाई बुझाउने बताउनुभएको छ।सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै सिंहले जनताको घरदैलोमै पुगेर उनीहरूका समस्या सुन्ने र त्यसलाई अभिलेखीकरण गरी सम्बन्धित नेतृत्वसमक्ष पुर्याउने उद्देश्यले पदयात्रा गर्न लागेको बताउनुभएको हो।उहाँकाअनुसार पदयात्राका क्रममा संकलन गरिएका जनताका समस्या तीन प्रति तयार पारिनेछ। एउटा प्रति पार्टी सभापतिलाई पुस्तकका रूपमा हस्तान्तरण गरिने, दोस्रो प्रति प्रधानमन्त्रीलाई बुझाइने र तेस्रो प्रति आफैँले राखेर संसद्मा जनताका समस्या उठाउन प्रयोग गरिनेछ।सिंहले मंगलबार बिहान मेचीको किनारबाट सुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर टुङ्गिने बताउनुभयो। करिब दुई महिनासम्म चल्ने यात्रामा दैनिक पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा जनताका कुरा सुन्ने उहाँको योजना छ।पदयात्राका क्रममा आफूले कुनै पनि राजनीतिक भाषण नगर्ने र केवल जनताका कुरा सुन्ने सिंहले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “म जनतालाई भाषण दिन होइन, जनताका कुरा सुन्न हिँडेको हुँ। जनताले के चाहेका छन्, के भोगेका छन्, त्यो नै मेरो पदयात्राको मुख्य उद्देश्य हो।”पदयात्रामा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सडक, खानेपानी, भ्रष्टाचार र सुशासनजस्ता विषयमा जनताका गुनासा संकलन गरिने उहाँले बताउनुभयो। विशेषगरी तराई–मधेशका जिल्लामा बाढी, डुबान, मल–बीउ अभाव र नागरिकताजस्ता समस्या गम्भीर रहेको उहाँको भनाइ छ।कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाले सांसदको यो अभियानलाई सकारात्मक रूपमा लिएका छन्। जनताको कुरा सुन्न नेताहरू गाउँ–गाउँमा पुग्नुपर्ने उनीहरूको भनाइ छ।सांसद सिंहले पदयात्रापछि तयार हुने प्रतिवेदनलाई संसद्मा पनि प्रस्तुत गर्ने र सरकारलाई जनताका समस्या समाधान गर्न दबाब दिने बताउनुभयो।






