नदी, सागर, हिमाल, वायु, धर्ती एउटै सृष्टिका आधार हुन्,
विभिन्न रूप धरे पनि मानवताका एउटै परिवार हौँ हामी सबै।
न म ठूलो, न तिमी सानो, भेदभावको पर्खाल तोडौँ,
अहङ्कारका कालो बादल हटाई प्रेमको दीप बालौँ।
आमा, बाबु, दाजु, बहिनी, मित्रताको सम्बन्ध गाँसौँ,
सत्य, न्याय र शान्तिको बाटो मानवधर्म बनाई हिँडौँ।

न धनले मानिस महान् हुन्छ, न पदले पहिचान मिल्छ,
असल कर्मको सुगन्धले संसारभर सम्मान मिल्छ।
गल्तीबाट पाठ सिकेर अघि बढ्ने साहस राखौँ,
विभाजनका विष बिर्सिएर सहकार्यको हात थामौँ।
सूर्य र चन्द्र दुवै चाहिन्छ उज्यालोको सन्तुलनमा,
दिन र रातको अर्थ खुल्छ प्रकृतिको अनुशासनमा।
सत्य र असत्य छुट्याउने विवेक आफ्नै मनमा राखौँ,
मानवताको विजय खोज्दै सद्भावको संसार बनाऔँ।
सुन चोरिएको धनभन्दा ठूलो आत्मसम्मान हुन्छ,
सिंहासनभन्दा माथि जनताको स्वाभिमान हुन्छ।
श्रम गर्नेका हातहरूमा राष्ट्र निर्माणको शक्ति छ,
समान न्याय पाउने अधिकार मानव जीवनको भक्ति छ।
धर्म अनेक भए पनि मानवता एउटै सार हो,
भाषा अनेक भए पनि प्रेमको एउटै संसार हो।
न कुनै जात ठूलो हुन्छ, न कुनै वर्णको घमण्ड,
समानताको जगमा उठोस् विश्वशान्तिको सम्बन्ध।
न हिंसाले समाधान मिल्छ, न घृणाले बाटो खुल्छ,
संवाद र सहकार्यबाट भविष्यको सुन्दर फूल फुल्छ।
बिदेश होस् वा नेपाल, एउटै पृथ्वीको सन्तान,
विश्वभरि फैलियोस् अब शान्ति, स्वतन्त्रता र सम्मान।
आफैँभित्र खोज सत्यलाई, आफैँभित्र दीप जलाऊ,
अन्धविश्वास र भ्रम हटाई विवेकको बाटो अपनाऊ।
शून्यभित्र सम्भावना छन्, कणभित्र ब्रह्माण्ड लुकेको,
मानवताको प्रेमभित्र छ सृष्टिको रहस्य खुलेको।
जय मानवता१ जय विश्वशान्ति१ जय सत्य र न्याय१
लेखक : गोबिन्द राज ओझा राजन





