सिन्धुली /
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक माइक्रोबस अनियन्त्रित भइ सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार दिउँसो करिब २ बजे मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको थियो।दुर्घटनाका समयमा चालकसहित १४ जना सवार रहेको र सबै जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको छ। उद्धार गरिएका सबै घाइतेलाई प्रारम्भिक उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल लगिएको छ।घाइतेहरूमध्ये केहीको अवस्था मध्यम रहेको र केही सामान्य घाइते भएको प्रहरीले जनाएको छ। सबै घाइतेको शुभजीवन अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं वा अन्य ठूला अस्पतालमा पठाउने तयारी गरिएको जनाइएको छ।दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा तीव्र गति र मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। तर, वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ।दुर्घटनापछि केही समय बीपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो। प्रहरीले माइक्रोबसलाई क्रेनको सहायताले खोलाबाट निकाल्ने काम गरिरहेको छ।बीपी राजमार्गमा यसअघि पनि पटक–पटक दुर्घटना हुँदै आएको छ। साँघुरो सडक, तीव्र गति र चालकको लापरबाहीका कारण दुर्घटना बढेको स्थानीय बासिन्दाको गुनासो छ। उनीहरूले सडकको अवस्था सुधार गर्न र गति नियन्त्रण गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।प्रहरीले यात्रुहरूलाई सिट क्षमताभन्दा बढी यात्रु नराख्न, तीव्र गतिमा सवारी नचलाउन र ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ।






