काठमाडौं /
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्ने कुरा केवल राजनीतिक प्रोपोगाण्डा मात्र भएको टिप्पणी गर्नुभएको छ। आज पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले थापालाई पक्राउ गर्न कसैले आँट गर्न नसक्ने र त्यसको कुनै कानूनी आधार समेत नरहेको दाबी गर्नुभयो।पछिल्लो समय राजनीतिक वृत्तमा कांग्रेस सभापति थापालाई विभिन्न प्रकरणमा जोडेर पक्राउ गर्न लागिएको भन्ने चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डको यस्तो भनाइ सार्वजनिक भएको हो। उहाँले लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षी दलको नेतालाई विना आधार र प्रमाण राजनीतिक प्रतिशोधका आधारमा चलाउन खोज्नु प्रत्युत्पादक हुने चेतावनी समेत दिनुभयो।संयोजक प्रचण्डले वर्तमान सरकारले प्रतिपक्षी नेताहरूलाई तर्साउन खोजेको आरोप लगाउँदै भन्नुभयो,गगन थापा एउटा स्थापित नेता हुनुहुन्छ, उहाँलाई पक्राउ गर्ने कुरा सोच्न पनि सकिँदैन। यदि सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको हो भने त्यसको परिणाम महँगो पर्नेछ। उहाँले देशमा सुशासन कायम गर्नका लागि सानालाई ऐन र ठूलालाई चैन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो।प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले प्रमुख दलहरूबीचको अविश्वास बढाएको बताउँदै मुद्दाका आधारमा कांग्रेससँग सहकार्य हुन सक्ने संकेत समेत गर्नुभयो। उहाँले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो। यसअघि कांग्रेस सभापति गगन थापा आफैँले पनि आफू कुनै पनि छानबिनका लागि तयार रहेको र राजनीतिक रूपमा तर्साउन खोजिए त्यसको डटेर सामना गर्ने बताउँदै आउनुभएको छ। प्रचण्डको यो बचाउपूर्ण अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले आगामी दिनमा बन्न सक्ने नयाँ राजनीतिक समीकरणको रूपमा समेत हेरेका छन्।






