काठमाडौं /
सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भेटघाट तथा संवाद भएको भन्ने समाचार सार्वजनिक भएपछि नेपाल बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।एसोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा न्यायपालिका संविधानको सर्वोच्चता, विधिको शासन, मौलिक हकको संरक्षण तथा न्यायमा नागरिकको पहुँच सुनिश्चित गर्ने राज्यको एक महत्त्वपूर्ण र संवेदनशील अङ्ग भएको उल्लेख गरिएको छ। न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, निर्भीकता र संस्थागत विश्वसनीयता लोकतान्त्रिक शासन व्यवस्थाका आधारस्तम्भ हुन्। न्यायपालिकाप्रतिको जनआस्था कायम राख्नु न्यायिक नेतृत्व, न्यायाधीश, कानून व्यवसायी तथा समग्र राज्य संयन्त्रको साझा दायित्व हो, विज्ञप्तिमा भनिएको छ। पछिल्ला दिनहरूमा सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटसम्बन्धी विवरण विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन्। त्यसैगरी, प्रधान न्यायाधीशसमेतलाई जोडेर समाचारहरू प्रकाशित भएका छन्। सार्वजनिक भएका यी विवरणले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको बारको भनाइ छ। बारले सार्वजनिक भएका समाचारमा उल्लिखित आरोप तथा विवरणलाई नै अन्तिम सत्य वा कुनै व्यक्ति विरुद्धमा दोष नै प्रमाणित भई सकेको निष्कर्षका रूपमा लिन नमिल्ने स्पष्ट पारेको छ। प्रत्येक व्यक्तिलाई निष्पक्ष छानबिन, आफ्नो धारणा प्रस्तुत गर्ने अवसर र प्रचलित कानूनबमोजिमको न्यायिक प्रक्रियाको पूर्ण प्रत्याभूती हुनुपर्छ भन्ने मान्यता यस एसोसिएसनको दृढ धारणा हो, विज्ञप्तिमा भनिएको छ।
तथापि, न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि त्यसलाई केवल सञ्चारमाध्यममा आएको समाचारका रूपमा सीमित राख्नु पनि उचित नहुने बारको मान्यता रहेको छ। बारले भनेको छ, यस्तो संवेदनशील विषयका सम्बन्धमा सत्यतथ्य, निष्पक्ष, विश्वसनीय र पारदर्शी प्रक्रियाबाट छानविन हुन आवश्यक छ। सञ्चार माध्यममा आएको न्यायपालिकासँग सम्बन्धित अति संवेदनशील समाचारसँग सम्बन्धित पदीय व्यक्तित्वहरुले आ-आफ्नो आचार संहितामा रहन आवश्यक देखिन्छ । बारले आमसञ्चार माध्यम, राजनीतिक दल, कानून व्यवसायी तथा आम नागरिकलाई पनि अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नुभन्दा प्रमाण, विधिको शासन र निष्पक्ष छानबिनको प्रक्रियालाई सम्मान गर्न अनुरोध गरेको छ।






