डोलेन्द्र थापा/ काठमाडौं
विजया दशमीको टीका र जमराको उत्साह सकिएसँगै नेपालका खेतहरु अहिले अर्कै उत्सवमा छन्। दशैं सकिएलगत्तै पहाडदेखि तराईसम्मका फाँटहरुमा पाकेको धानले सुनौलो चादर ओढेको छ। खुल्ला निलो आकाशमुनि गैरी खेतमा झुलेको धान साक्षी, दृश्य यति मनमोहक छ कि लाग्छ, धर्तीले नै सुन फलाएको छ। तर यो सुन्दरताभित्र किसानको मनमा भने एउटा ठूलो दुविधा छ — धान काट्ने कि एक हप्ता पर्खिने?नेपालमा धान केवल बाली मात्र होइन, यो जीवन हो, संस्कृति हो, अर्थतन्त्रको मेरुदण्ड हो। नेपालको कुल जनसंख्याको करिब ६० प्रतिशतभन्दा बढी मानिस अझै पनि कृषिमा निर्भर छन् र धान सबैभन्दा महत्वपूर्ण खाद्यान्न बाली हो। हाम्रो राष्ट्रिय अर्थतन्त्रमा धानको योगदान अतुलनीय छ।
नेपालको भौगोलिक विविधतासँगै धानको कथा पनि फरक-फरक छ।

हिमाली क्षेत्रमा धानको उत्पादन निकै कम हुन्छ। चिसो हावापानी र कम जमिनका कारण त्यहाँ फापर, जौ र कोदो बढी फल्छ। तर पछिल्ला वर्षहरुमा जुम्ला जस्ता हिमाली जिल्लामा मार्सी धान जस्ता रैथाने धानले विश्वमै चर्चा पाएको छ। हिमालमा धान कम फल्छ, तर फल्ने धानको महत्व भने धेरै छ। पहाडमा भने अवस्था फरक छ। पहाडका टारी र गराहरुमा धान राम्रै फल्छ। काभ्रे, लमजुङ, गोरखा, तनहुँका बेसीहरुमा अहिले धान पाकेर पहेंलपुर भएको छ। पहाडमा सिँचाइको सुविधा कम भए पनि आकाशे पानी र परम्परागत कुलोको भरमा किसानले मेहनतले धान फलाएका छन्।तर नेपालमा धानको वास्तविक शान तराईमा छ। झापादेखि कञ्चनपुरसम्म फैलिएको तराईलाई त्यसैले ‘नेपालको अन्न भण्डार’ भनिएको हो। यहाँ प्रशस्त उब्जाउ हुन्छ। नेपालमा उत्पादन हुने कुल धानको ७० प्रतिशतभन्दा बढी तराईमै उत्पादन हुन्छ। सुनसरी, मोरङ, झापा, सप्तरी, धनुषा, रुपन्देही, कैलाली, कञ्चनपुर यी जिल्लाहरु धानका लागि प्रसिद्ध छन्।

दशैं लगत्तै किसानलाई फुर्सद छैन। बिहान घाम झुल्किनुभन्दा अगाडिदेखि बेलुका घाम नअस्ताउन्जेलसम्म किसान खेतमै छन्। हातमा हँसिया, काँधमा दाम्लो, खेतमा धान काट्ने चटारो छ। कतै थ्रेसर मेसिन चलेको छ, कतै परालको टाल लगाइँदैछ। दशैंमा टीका लगाएर शहरबाट गाउँ फर्किएका युवाहरु पनि अहिले बाबुआमालाई धान काट्न सघाइरहेका छन्।यो वर्ष धानको उत्पादन राम्रो हुने अनुमान छ। मनसुन समयमै सुरु भएको र बाढी-पहिरोले ठूलो क्षति नपुर्याएकाले धेरै ठाउँमा धान सप्रिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष धान उत्पादनमा ५ देखि ७ प्रतिशतले वृद्धि हुने अनुमान छ। यो किसानका लागि खुसीको खबर हो। तर खुसीसँगै चिन्ता पनि थपिएको छ। सरकार, विशेषगरी जल तथा मौसम विज्ञान विभागले मौसमलाई हेरेर धान काट्न सूचना जारी गरेको छ। विभागका अनुसार आउँदो सोमबारदेखि पश्चिमी वायुको प्रभावले देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने पूर्वानुमान छ।यस सूचनाले किसानलाई दोधारमा पारेको छ। एकातिर धान भर्खर पाकेको छ, केही दिन पर्खियो भने दाना अझ भरिलो हुन्छ र उत्पादन बढ्छ। हतारमा काट्दा धान हरियो हुन सक्छ र भुस बढी निस्कन सक्छ। अर्कोतिर यदि सोमबारदेखि पानी पर्यो भने काटेको धान खेतमै कुहिने, बाला उम्रिने र ठूलो नोक्सानी हुने डर छ। गत वर्षहरुमा यस्तै बेमौसमी वर्षाका कारण हजारौं किसानले धानबाली गुमाउनुपरेको थियो। कृषि विज्ञहरुका अनुसार किसानले अब हतार गर्नु नै बुद्धिमानी हुन्छ। ८० प्रतिशतभन्दा बढी धान पहेंलपुर भएर झुकेको छ भने काटिहाल्नु राम्रो। मौसमको भर पर्नुभन्दा बाली सुरक्षित गर्नु ठूलो कुरा हो। सरकारले पनि स्थानीय कृषि ज्ञान केन्द्र मार्फत किसानलाई छिटो धान काट्न र सुरक्षित ठाउँमा भण्डारण गर्न सुझाव दिइरहेको छ।





