काठमाडौँ /
आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब दोस्रो संस्करणको झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । झापाको दूधे रङ्गशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपीएफलाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक दुई गोल गरिन् ।घिसिङको उत्कृष्ट प्रदर्शनसँगै फाइनलमा स्थान सुरक्षित गरेको एपीएफले अब उपाधिका लागि अर्को विभागीय टोलीको सामना गर्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि दिउँसो दुई विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस संस्करणको झापा महिला गोल्डकपको विजेता टोलीले नगद ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।यसैगरी, प्रतियोगिताका सर्वोत्कृष्ट एक खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, विधागततर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।






