काठमाडौं/
स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदैछ।
भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौं आइसकेका पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल, शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।दुई दिनसम्म चल्ने भेलामा स्थानीय तह निर्वाचनको रणनीति, उम्मेदवार छनोटको मापदण्ड, संगठन परिचालन र चुनावी घोषणापत्रको मस्यौदाबारे छलफल हुनेछ। त्यस्तै, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता, सरकारको कामकारबाहीको समीक्षा र आगामी राजनीतिक कार्यदिशाबारे पनि नेताहरूले धारणा राख्नेछन्।उपमहासचिव भट्टका अनुसार भेलामा देशभरबाट ३ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। भेलालाई पार्टीले स्थानीय निर्वाचनको औपचारिक सुरुवातका रूपमा लिएको छ। पालिका तहमा बलियो उपस्थिति जनाउँदै अधिकांश पालिकामा जित हासिल गर्ने लक्ष्यका साथ पार्टीले संगठनलाई चुस्त बनाउने तयारी गरेको उनले बताए।भेलामा विभिन्न समूहमा छलफल गरी निष्कर्ष निकालिने र त्यसलाई पार्टीको चुनावी कार्ययोजनामा समेटिने छ। समूह छलफलमा स्थानीय तहमा देखिएका समस्या, जनताका गुनासा र विकासका एजेन्डाबारे पनि सुझाव संकलन गरिनेछ।यसैबीच, निर्वाचन आयोगले पालिका चुनावबारे दलहरूसँग मङ्सिर ४ गते परामर्श गर्न लागेको छ। आयोगले चैतभित्रै पालिका चुनाव गर्ने गरी सरकारसँग छलफल गरिरहेको छ। पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो वैशाखमा सकिँदै छ।एमालेको यो भेलाले पालिका चुनावको माहोल तताउने र अन्य दललाई पनि चुनावी तयारीमा जुट्न दबाब दिने राजनीतिक विश्लेषकहरूको अनुमान छ।






