काठमाडौं/
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा लुम्बिनीले २० बल बाँकी छँदै लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्यो।लुम्बिनीको जितमा निरोशन डिकवेलाले अविजित ५९ रनको अर्धशतकीय पारी खेले। उहाँले ३७ बलको सामना गर्दै तीन छक्का र सात चौका प्रहार गर्नुभयो। कप्तान रोहितकुमार पौडेलले २१ रन बनाउनुभयो। सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई तथा स्कट कुगेलेन र हेमन्त धामीले समान एक विकेट लिनुभयो।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाउनुभयो। उहाँले ५१ बलमा तीन चौका र एक छक्का प्रहार गर्नुभयो। इशान पाण्डेले ३३ बलमा २७ रन जोड्नुभयो।सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमलाई ऐरी र पाण्डेले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गर्नुभएको थियो। तर, अन्य ब्याटरले राम्रो साथ दिन नसक्दा सुदूरपश्चिमले ठूलो स्कोर बनाउन सकेन।लुम्बिनीका रुबेन ट्रम्पलम्यानले दुई विकेट लिनुभयो। शेर मल्लले पनि दुई विकेट हात पार्नुभयो भने अभिषेक गौतम र किशोर महतोले समान एक विकेट लिनुभयो। लुम्बिनीको कसीएको बलिङ र उत्कृष्ट फिल्डिङले सुदूरपश्चिमलाई कम स्कोरमै समेटेको थियो।लिग चरणमा शीर्ष स्थानमा रहेको लुम्बिनीले ११ अङ्क जोडेको थियो भने सुदूरपश्चिम १० अङ्कसहित दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो।पहिलो क्वालिफायर जितेसँगै लुम्बिनीले उपाधिका लागि फाइनलमा स्थान बनाएको छ। पराजित सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा अर्को अवसर पाउनेछ।एनपिएलको तेस्रो संस्करणको फाइनल खेल मङ्सिर ५ गते हुने तालिका छ। फाइनलमा लुम्बिनीले दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
Compose
Write to Meta AI





