सर्लाही /
सामाजिक सञ्जालमा प्रहरीसँग सम्बन्धित मिथ्या तथा भ्रामक सूचना प्रकाशन एवं प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार पक्राउ पर्नेमा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा रहेका छन्।प्रहरीले पासवानले आफ्नो व्यक्तिगत फेसबुक खाता र बैठाले आफूले सञ्चालन गरेको फेसबुक पेजमार्फत भ्रमपूर्ण सूचना पोस्ट गरेको जनाएको छ। उनीहरूले प्रहरीबाट पक्राउ नै नगरिएको व्यक्तिलाई ‘पक्राउ गरिएको’ भन्दै सामाजिक सञ्जालमार्फत गलत प्रचार गरी सर्वसाधारणमा भ्रम छर्ने र प्रहरीको कामकारबाहीप्रति अन्योल सिर्जना गर्ने कार्य गरेको खुलेको छ।प्रहरीका अनुसार यस्ता भ्रामक सूचनाले समाजमा त्रास फैलिने, पीडित परिवारलाई मानसिक तनाव हुने र प्रहरीको विश्वसनीयतामा असर पर्ने भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जनामाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले सामाजिक सञ्जालमा आधिकारिक पुष्टि नभएका सूचना नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले कुनै पनि सूचनाबारे शंका लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा प्रहरीकोआधिकारिक पेजबाट मात्रै जानकारी लिन अनुरोध गरेको छ।पछिल्लो समय सामाजिक सञ्जालमा भ्रामक सूचना, फेक समाचार र चरित्रहत्या गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्रहरीले निगरानी बढाएको छ। यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाही गरिने प्रहरीको चेतावनी छ।प्रहरीले सर्वसाधारणलाई सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न र बिना प्रमाण कुनै पनि सूचना सेयर नगर्न आग्रह गरेको छ।






