काठमाडौं /
नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।समाचार कक्षमै प्रहरी प्रवेश, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत गाडी तेर्स्याउनेमाथि कारबाही नहुनु, पत्रकार निष्कासन, श्रम अधिकार उल्लङ्घन र लोककल्याणकारी विज्ञापनबापतको रकम नदिइएकोजस्ता कारणले महासङ्घले आन्दोलन घोषणा गरेको हो। महासङ्घका अनुसार पछिल्लो समय प्रेसमाथि राज्यको हस्तक्षेप बढ्दै गएको छ। समाचार संकलन र सम्प्रेषणका क्रममा पत्रकारमाथि धम्की, दुर्व्यवहार र आक्रमणका घटना बढेका छन्। तर, दोषीमाथि कारबाही हुनुको साटो उल्टै पत्रकारलाई नै त्रसित पार्ने काम भएको महासङ्घको आरोप छ।त्यस्तै, धेरै सञ्चारमाध्यममा पत्रकारहरूले महिनौंदेखि तलब नपाएको, बिना कारण निष्कासन गरिएको र श्रम सम्झौता कार्यान्वयन नभएको गुनासो पनि महासङ्घले उठाएको छ। लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयदेखि भुक्तानी नहुँदा साना तथा मझौला सञ्चारमाध्यम झनै संकटमा परेका छन्। महासङ्घले घोषणा गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत पहिलो चरणमा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, कालो पट्टी बाँधेर काम गर्ने र विरोध सभा गर्ने कार्यक्रम रहेका छन्। माग सम्बोधन नभए थप कडा आन्दोलनमा जाने चेतावनी पनि महासङ्घले दिएको छ।महासङ्घका अध्यक्षले प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण भएको बताउँदै सरकारले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा दमनको बाटो रोजेको आरोप लगाएका छन् ।






