पोखरा /
कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने उक्त सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ।अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई ८ वर्ष कैद सजाय र रु। एक करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ। त्यस्तै सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाईजनही सात वर्ष कैद र रु। एक करोड २६ लाख २३ हजार जरिवानाको फैसला भएको उनले जानकारी दिए।अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद सजाय र रु। २६ लाख २३ हजार जरिवाना तोकिएको शाखा अधिकृत पोखरेलले बताए। जरिवानासँगै रु। १८ करोड ९६ लाख ५९ हजार बिगो माग भएको उनको भनाइ छ।न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ गते उक्त फैसला गरेको र फैसलाको पूर्णपाठ आउन बाँकी रहेको उनले बताए।इमेज सहकारीले बचतकर्ताबाट संकलन गरेको रकम अपचलन गरेको अभियोगमा उनीहरूमाथि मुद्दा चलेको थियो। बचतकर्ताहरूले लामो समयदेखि आफ्नो बचत फिर्ता नपाएको गुनासो गर्दै आएका थिए। सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम आफ्नो व्यक्तिगत प्रयोजन र अन्य व्यवसायमा लगानी गरेको आरोप लागेको थियो।फैसलापछि बचतकर्ताहरूले केही राहत महसुस गरे पनि बिगो असुली र बचत फिर्ता कहिले हुने भन्ने अझै अन्योल रहेको बताएका छन्। उनीहरूले अदालतको फैसला कार्यान्वयन गरी छिटो बचत फिर्ता गराउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।सहकारी ठगीका घटनामा यो फैसला महत्त्वपूर्ण नजिर बन्न सक्ने कानुन व्यवसायीहरूको भनाइ छ। पछिल्लो समय देशभर सहकारी ठगीका घटना बढिरहेका बेला यस्तो फैसलाले बचतकर्तामा न्यायको आशा जगाएको छ।






