काठमाडौँ /
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विदेशमा जन्मेहुर्केका दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई मातृभूमिसँग जोड्ने उद्देश्यले पहिलो पटक ‘एनआरएन विश्व दोस्रो पुस्ता सम्मेलन’ आयोजना गर्ने भएको छ ।सङ्घका अनुसार उक्त सम्मेलन आगामी सन् २०२७ जनवरी २ र ३ तारिखमा आयोजना हुनेछ ।विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरूलाई नेपालको सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवेशसँग परिचित गराउन सम्मेलन गर्न लागिएको एनआरएनएले जनाएको छ । साथै, दोस्रो पुस्ताले विदेशमा हासिल गरेको आधुनिक ज्ञान, सीप र प्रविधिलाई नेपालको समग्र विकासमा सदुपयोग गर्ने मुख्य लक्ष्यका साथ सम्मेलनको तयारी अघि बढाइएको सङ्घले स्पष्ट पारेको छ ।यस सम्मेलनले प्रवासमा हुर्किरहेको नयाँ पुस्ता र नेपालबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै मुलुकको समृद्धिमा उनीहरूको सहभागिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास सङ्घले लिएको छ ।






