काठमाडौँ /
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतासँग जोडिएका संवेदनशील विषयमा सरकार कमजोर देखिएको आरोप लगाएको छ ।पार्टी अध्यक्ष चित्रबहादुर केसीले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण राष्ट्रिय हितको दृष्टिकोणले उपलब्धिमूलक हुन नसकेको टिप्पणी गर्नुभएको हो । वक्तव्यमा कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको सीमा विवादबारे भ्रमणका क्रममा भारतसँग छलफलसमेत नगरिएको भन्दै आलोचना गरिएको छ । भारतले नेपालको अनुमतिबिना लिपुलेक क्षेत्रमा सडक निर्माण गरिरहेको र प्रधानमन्त्रीकै उपस्थितिमा भारतीय पक्षले लिपुलेकलाई भारत–चीन सीमा भनी उल्लेख गर्दा पनि मौन बसेर सरकारले आत्मसमर्पणवादी नीति अपनाएको जनमोर्चाको आरोप छ । यस्तै, सन् १९५० को असमान सन्धिलगायत पुराना सम्झौता पुनरावलोकन र नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्ने विषयलाई समेत भ्रमणको एजेन्डा बनाउन प्रधानमन्त्री असफल भएको वक्तव्यमा उल्लेख छ ।
जनमोर्चाले काठमाडौँ–भैरहवा–लखनउ हवाई रुट उपलब्ध गराउने सहमतिलाई सकारात्मक भने पनि विगतका सहमति कार्यान्वयन नभएको नजिरका कारण यसपटक पनि शङ्का व्यक्त गरेको छ । भोटेकोशी बाढीपीडितका लागि राहत तथा विकास परियोजनामा भारतीय सहयोग सकारात्मक भए पनि त्यस्तो सहायता निःशर्त हुनुपर्ने पार्टीको माग छ ।

अध्यक्ष केसीले प्रधानमन्त्री शाहलाई अवसरवादी र अविश्वसनीय व्यक्तिको संज्ञा दिँदै उहाँको नेतृत्वमा मुलुकले थप दुर्घटना बेहोर्न सक्ने आशङ्कासमेत व्यक्त गर्नुभएको छ ।





